समाचार

२२ दिनपछि बाकसमा शव घरमा आएपछि आमा र श्रीमती बेहोस् परिवारमा रुवावासी

झापा । फागुन ३० गते विहिवार दिउँसोको ४ वजेतिरको समय थियो, खेतमा मकै गोडीरहेकी कनकाई नगरपालिका ५ स्थित तुलसीवारीकी २५ वर्षिया मन्जु भेट्वाललाई आएको फोन रिसिभ गर्ने वित्तिक्कै उनी बेहोस भइ भुँइमा ढलिन् । जसोतसो मकै गोड्ने साथीसँगीहरुले मन्जुलाई उनको घरमा पुर्याए । बेहोस अवस्थामा भुइँमा ढलेकी मन्जुलाई कसैले सम्झाउँन सक्ने अवस्था थिएन । सवैका आँखावाट आँसु झरीरहेका थिए । त्यो बेलासम्म नजिकै रहेका अन्य सवैलाई यथार्थ कुराको जानकारी प्राप्त भइसकेको थियो ।

इलामको दानावारी हालको महमाई नगरपालिका ४ निवासी नरनाथ र चेवनकुमारी दहालकी साइली छोरी मन्जु ६ वर्ष अघि २०६९ सालको असार १० गतेका दिन १९ वर्षकै उमेरमा कनकाई ५ स्थित तुलसीवारी निवासी लक्ष्मीप्रसाद र विष्णुमाया भेट्वालका साइला छोरा सुरेश भेट्वालसँग विवाह वन्धनमा वाँधिएकी थिइन् । विवाह हुनु भन्दा पाँच वर्ष अघिदेखी नै सुरेश वैदेशिक रोजगारीका लागि दोहा कतार गएका थिए ।

विवाहका लागि दुई महिनाको विदामा आएका सुरेशले विवाहपछि एक महिनाकी वेहुली वावुआमाका साथमा छाडेर आँफू परदेश तर्फ लागेका थिए । दश महिनापछि २०७० सालको वैशाख ५ गतेका दिन छोराको जन्म भएपछि सुत्केरी मन्जुलाई हस्पीटलवाट घरमा ल्याएसँगै सोही दिन वेलुका सुरेश कतारवाट घर आएर दुई महिना वसेका थिए । त्यसपछाडी यस अघि २०७३ सालको चैतमा दुई महिनाको विदाको समय घर परिवारसँग विताएर गएका सुरेश अव मन्जुसँग मात्र नभई यो संसारवाट नै सदाका लागि विदा भएको खबर आएपछि उनी भुँइमा ढलेकी थिइन् ।

मृतक

एघार वर्ष अघिदेखी ग्रुपफोर सेक्युरिटीमा कार्यरत ३६ वर्षीया भेट्वाल दोहा कतारस्थित अस्ताद प्रोजेक्ट विन महम्मद विल्डीङ्मा कार्यरत थिए । गत फागुन २९ गते राती १० वजेसम्म पनि सुरेशसँग सधैं झैं भिडीयो कलवाट हाँसो खुशीका साथ राम्रैसँग कुराकानी भएको मन्जु वताउँछिन् । भेट्वाल दम्पती विच भावि योजना सहित भएको रमाइलो कुराकानी उज्यालो हुन नपाउँदै अस्ताउन पुगेको छ । उज्यालो भएपछिको समय भोली पल्ट ३० गते विहान आफ्नै कोठामा भेट्वाल शंकास्पद तरिकाले मृतअवस्थामा फेला परेपछि भेट्वाल दम्पती विचको सपना अधुरै रहने भएको हो ।

कोठामा ६ जना साथीहरु मिलेर वस्दै आएको भएपनि दुईजना डिउटीमा रहेकाले त्यो रात भेट्वालसहित चारजना सुतेको कोठामा उनी झुन्डीएको अवस्थामा फेला परेको सोही कम्पनीका सुपरभाइजर अनिल गुरुङ्लाई उदृत गर्दै मृतक सुरेशका भाइ गोविन्द भेट्वालले वताएका छन् । दुई साता वितिसक्दा पनि सत्य तथ्य सार्वजनिक नहुँदा दिनप्रतिदिन परिवारलाई तनाव बढ्दै गएको गोविन्दले वताएका छन् । कतार सरकारले घटनाको वारेमा छानविन गरिरहेकाले कानुनी प्रक्रिया पूरा हुनासाथ सम्वन्धित पक्षलाई जिम्मा लगाउँने जानकारी गराएको काठमाण्डौस्थित मृतकका आफन्त सुनिल भेट्वालले वताएका छन् ।

पोष्टमार्टमको रिपोर्ट आउँन समेत ढिला भएको साथै मृतक भेट्वालका साथीहरुसँग समेत अलग अलग दिनमा वयान लिने काम कतार प्रशासनवाट भइरहेकाले केही दिन ढिला भए पनि यथार्थ कुराको तथ्यसहित अव चाँडै सम्वन्धित पक्षलाई लास जिम्मा लगाउँने तयारी भएको स्रोतले जनाएको छ ।

विवाह भएदेखी दशैंतिहार लगायतका कुनै पनि चाडपर्व एकैसाथ मनाउँने अवसर नमिलेकाले अव एकैचोटी दशैंमा विदा मिलाएर आउँने र चाडपर्व रमाइलोका साथ विताउँने भेट्वाल दम्पतीको सपना अव अधुरै रहेको छ । अरु दुई वर्ष विदेशमा वसेपछि आँफ्नो व्यवहार केही सहज हुने विश्वास लिएका सुरेशले त्यसपछिका दिनमा स्वदेशमै आएर परिवारका साथ गाईपालन र कुखुरा फर्म खोल्ने र श्रीमतिका लागि छुट्टै पसल संचालन गरिदिने भावि योजना सुनाउँने गरेको मन्जु वताउँछिन् ।

विदेश गएर आर्जन गरेको पैशाले कनकाई ५ स्थित तुलसीवारीमा चार वर्ष अघि किनेको घरमा सुरेशले आफ्नी श्रीमति मन्जु र उनको पाँच वर्षको छोरा सुमनलाई व्यवस्थापन गर्न भ्याएका थिए । हाल पाँच वर्षका छोरा सुमन स्थानीय विद्योदय अंग्रेजी माविमा कक्षा युकेजीमा अध्ययनरत छन् । मिहिनेत र परिश्रममा विश्वास गर्ने भेट्वाल सानैदेखी अत्यन्तै मिलनसार एवम् सहयोगी भएको नजिकका आफन्त श्रीप्रसाद भेट्वाल एवम् छिमेकी दुर्गा विमली लगायतले वताएका छन् ।

भेट्वालको शव अहिले उनकै नीजि निवासमा राखिएको छ । शव देखेपछि आमा र श्रीमति बेहोस् छन् भने अन्य परिवार तथा आफन्तहरु शोकाकुल भएका छन् । शवलाइ आजै कन्काइ माइमा लगेर अन्तिम दाहसंस्कार गरिने भएको छ ।

हेर्नुहोस केही तस्विरहरु

Related Articles

Close