काम केही अफ्ठ्यारो हुन्छ तर पैसा राम्रो कमाइन्छ भन्दै दिदीले मलाई ठमेल लगिन

राजधानी छिर्दा मसँग सपनाका चाङ थिए । प्रवेशिका परीक्षा उतिर्ण गरेर राजधानीको प्रवेश गर्दै गर्दा मैले सोचेकी थिएँ, ‘कुनै दिन राजधानीबाट ठूलो न्छे बनेर आफ्नो गाउँ फर्किने छु ।’

थाहा थियो, सपना सप्पैका पुरा हुँदैनन् । जसले आफूले देखेका सपनामा छाँद हाल्दै अगाडि बढिरहन्छ उसैले सपनालाई विपनामा परीणत गर्न सक्छ । अक्सर म सपना देख्ने गर्दथेँ । सपना देख्न मलाई रात पर्नु पर्दैनथ्यो । दिउसै पनि म सपना देख्थेँ । मलाई विश्वास थियो, अचेत अवस्थामा देखिएको सपना भन्दा सचेत अवस्थामा मथिङ्गलमा कोरिएका कल्पनाले नै मुर्तता पाउन सक्छन् । त्यसैले मैले सपना देख्न छाडिनँ ।

खर काट्न खर्क उक्लँदा होस् या पाखाहरूमा घाँसको फेरो मार्दा होस् म तिनै सपनाहरूमा हराइरहेकी हुन्थेँ । किनकी मलाई सपनाहरू निकै मिठा र गुलिया लाग्दथे ।

प्रवेशीका परीक्षा उतिर्ण गरेर सहर त छिरेँ तर सहरमा सपना पुरा गर्न त्यती सहज थिएन । गाउँका दुःख, कष्ट र पीडाले चितोथोरिएको म यहाँ आएर रातारात सपनाको संसारमा हराई हाल्न सम्भव थिएन । राजधानी हेर्दा जति आकर्षक र मनमोहक लाग्थ्यो बुझ्दै जाँदा यहाँभित्र निकै दुःख र बेदनाका कथाहरू सन्निहित रहेछन् । सवैका अनुहार हतास, त्रास, करूणा र रोदनले भरिएका हुँदा रहेछन् । आफैँबाट भागिरहेका, अभाव वियोगमा कतै हराएका भावसून्य भीडमा म पनि मिसिन आइपुगेँ । हो, त्यस पछि सुरूभयो मेरो दुःखदायी यात्रा ।

अचेल ति दिन सम्झँदा मेरा आँखाबाट बलिन्द्रधारा आँसु खस्छन् । पीडाले मन भक्कानिन्छ, गरुङ्गो भएर आउँछ । व्यथाले मन झन् आक्रान्त हुन्छ । वास्तवमै म दलदलमा फसेँ । चाहेर फसेँ की नचाहेरै फसेँ त्यो त म के जानूँ र !

म बि.सं.२०५९ सालको दशैँ पछि पहिलोपट काठमाडौँ खाल्डोमा प्रवेश गरेको हुँ । त्यतीवेला मुलुकमा संकटकाल थियो । काम गरेर खाने अवस्था थिएन । नयाँ मानिस देख्दा, भेट्दा पनि आत्तिनुपर्ने अवस्था थियो । प्रवेशीका परीक्षा त पास गरियो तर त्यसभन्दा माथि पढ्ने र परिवारले पढाउने अवस्था थिएन । यसो भन्दा फरक पर्दैन हाम्रो परिवार गरिवी, अभावले यति विघ्न थिचिएको थियो, जसका कारण मेरो चाहना सायदै पुरा हुन्थ्यो । र पनि मनमा थुप्रै सपना थिए जसले मलाई अगाडि बढ्न घच्घच्याई रहन्थ्यो । मनका ति रूमानी सपना मलाई लाग्दैनथ्यो अनायास ओइलाएर झरुन् । अभावले खङ्ग्रङ्ग सुकुन् । चैते खडेरीझैँ नांगिउन् । उजाडिउन् ।

त्यसपछि म काठमाडौँको एक सरकारी कलेजमा भर्ना भएँ । आन्दोलनको मौसम पनि थियो त्यतिवेला । तत्कालिन राजा ज्ञानेन्द्रले चालेको १९ असोजको कदम पछि विद्यार्थीहरू आन्दोलित भएका थिए । दिनुहँ जसोको आन्दोलन, प्रहरी विद्यार्थीबीचको दोहोरो झडपले क्याम्पसहरू रणभुमीमा परीणत भएका थिए । पढ्ने वातावरण थिएन । कालोपुल नजिकै कोठा भाडामा लिएको थिएँ त्यसवेला मैले ।

कोठाभाडा मासिक सातसय रुपैँया थियो । महिनामा त्यस्तै दुई तिनहजार खर्च चाहिन्थ्यो । सुरुवातको दुई महिना त घरबाटै पैसा ल्याएर खर्च चलाएँ । त्यसपछि घरबाट पैसा ल्याएर यहाँको खर्च चलाउन अफ्ठ्यारो लाग्न थाल्यो । सोचेँ अव केही काम खोज्नु पर्दछ । काम त खोज्ने तर कहाँ ? कसरी ? कुनै ज्ञान थिएन । चिनेका मान्छे पनि थिएनन् ।

म नजिकै कोठमा बस्ने एक जना दिदी थिइन् । सायद पूर्व तिरको थिइन् । आकर्षक जिऊडाल भएकी उनी प्रायः मेरो कोठमा आइरहन्थिन् । एक्लै भएकाले म कहाँ नै खाना खाउँ भन्थिन् । मैले उनको कुरा नकार्न नसकेर उनीकहाँ नै खाना खान्थेँ । यस्तैमा उनले तिमी काम गर्ने भए म एक ठाउँमा भन्दिन्छु भनिन् । मैले पनि काम खोजेको निकै भएको थियो तर पाउन सकिराखेको थिइनँ । उनको त्यो कुरा सुन्नासाथ उत्साहित भएर हुँन्छ भनेँ ।

भोली पल्ट उनले मलाई ठमेल लगेर गइन् । कर्मचारी सञ्चयकोसको भित्रि गल्लीबाट केही पर उनले भनेको अफिस रहेछ । त्यो मसाज पार्लर थियो ।

काम के हो, कसरी गर्ने, के गर्ने कुनै जानकारी थिएन । म त त्यही दिदीको पछि लागेर गएको थिएँ । त्यस अफिसमा म जस्तै अरु दुई जना महिला थिए । दिदीले के कुरा गरिन्, मलाई थाहा भएन हामी त्यहाँ आधा घण्टा पनि नबसी भोलीबाट काम सुरू गर्ने भनेर डेरामै फर्कियौँ । दिदीले बाटामा काम केही अफ्ठ्यारो हुन्छ तर पैसा राम्रो कमाइन्छ भनिन् । काम पाइयो भनेर मन ढुक्क भयो । भित्रभित्रै फुरुङ्ग भएँ ।

भोलीपल्ट तोकिएको समयमै अफिस पुगेँ । तर, काम मैले सोचे र कल्पना गरे भन्दा नितान्त भिन्न थियो । आवश्यकताले मलाई यति निचोरेको थियो की मैले त्यो काम नगरी धरै थिएन । मैले त्यहाँ आएका ग्राहकहरूको मसाज गर्ने काम गरेँ । सुरुवाती दिनहरूमा मलाई त्यस्तो काम नगरौँ नलागेको होइन । आफूले गर्न थालेको काम प्रति आफैँलाई चित्त बुझेको पनि थिएन । काम सम्झेर र आफ्नो दुःख सम्झेर म घण्टौँ रुन्थेँ । के गर्नु बाध्यता निर्मम हुँदो रहेछ ! तर त्यहाँ आएका ग्राहकले दिने पैसाले मन लोभिँदै थाल्यो । प्रायः उच्च घरानीयाका व्यक्तिहरू र विदेशीहरुनै त्यहाँका ग्राहकहरू हुन्थे । उनीहरूले भनेजति पैसा दिन्थे । म मेहनत गर्ने नै भएकाले मसाज पार्लरको धनीले पनि छिट्टै विश्वास गर्यो । काम सुरू गरेको दुई महिना भर्खर हुँदै थियो । त्यस्तैमा एक जना ग्राहकले मलाई अचम्मको प्रस्ताव राखे । ति ग्राहक त्यहाँ नियमित पनि आउँथे र मसाज गराउन मलाई नै रोज्थे ।

उनको प्रस्ताव मैले स्वीकार्न सक्ने अवस्था थिएन । तर, उनको प्रस्ताव नस्वीकारे साहुले भोलीबाट काममा नआउनु भने । त्यसपछि बाध्य भएर मैले उसलाई शरीर सुम्पनु पर्यो । त्यसपछि त्यहाँ आउने थुप्रै ग्राहकले मलाई नै आँखा लगाउन थाले । म उनीहरूको यौनको भोक मेटाउने साधन बन्न पुगेँ । र म नचाँहदा नचाँहदै यौनकर्मको दलदलमा फस्न पुगेँ । त्यो झण सम्झँदा अहिले पनि मन अमिलो हुन्छ र आँखाबाट आँसु खस्छ ।

त्यो मसाज पार्लरमा मैले त्यस्तै एक वर्ष काम गरेँ । त्यसपछि म अर्को मसाज पार्लरमा गएँ । त्यहाँ तीन वर्ष बिताएँ । मसाज पार्लर पछि पेशेवर यौनकर्मी

मसाजपार्लरको त्यो कर्म पछि म कतिखेर पेशेवर यौनकर्मी बन्न पुगिसकेछु । मसाज पार्लरमा आउने ग्राहकहरू नै मेरा नियमित ग्राहक हुन थाले । अचेल म तिनै नियमित ग्राहकहरूको यौन चाहना पुरा गरे जीवन धान्न विवश छु । मेरो यो कामबारे मेरा घर परिवार कसैलाई थाहा छैन । मेरो आर्थिक अवस्था पनि राम्रै छ । पछिल्लो समय घरमा विवाह गर्न कर गर्न थालेका छन् । तर, विवाह गरेर सामाजिक जीवन अगाडी बढाउने अवस्था छैन । मसँग यौनसन्तुष्टि मेटाउन आउने ग्राहकले पनि विवाह गरौँ नभनेका होइनन् । उनीहरूसँग बैवाहिक जीवन टिकाउ हुनेमा मलाई खासै विश्वास छैन । गरिवी, अभाव र आवश्यकताले म यो पेशामा लाग्न बाध्य भएँ । आज म जस्तै युप्रै यौनकर्मीहरू रहरले भन्दा पनि बाध्यताले यही पेशामा लागेका छन् । दलदलमा फसेका छन् । तर उनीहरू सवै यो पेशाबाट बाहिर आउन चाहन्छन्।

यौनकर्मी रमा केशी (नाम परिवर्तनसँग) कुराकानीमा आधारित)