‘साइकल मन्त्री’ भनी परिचित लालबाबु पण्डित मासिक दुई सय लिटर इन्धन लिन्छन्, तलबभत्ता दुई लाख ३२ हजार बुझ्छन्

88

काठमाडौं, ५ पुस । एक वर्षअघि सम्पन्न प्रतिनिधिसभा निर्वाचनका बेला लालबाबु पण्डित भन्थे, ‘म गरिब छु, चुनावी खर्च छैन ।’ उनी आफूलाई ‘गरिब’ नेता भन्न रुचाउँछन् ।

अघिल्लो पटक सामान्य प्रशासन मन्त्री भएकै बेला साइकल चढे । त्यसैले धेरै मानिस उनलाई ‘साइकल मन्त्री’ भन्छन् । यस्तै यस्तै फन्डा गरेर उनले संघीय सांसदका लागि मोरङ–६ बाट उम्मेदवार बने र कांग्रेसका हेभिवेट उम्मेदवार डा.शेखर कोइरालालाई हराए । नेता पण्डितलाई गरिब ने भन्ठानेर देशविदेशबाट एक एक रुपैयाँ सहयोग भयो । केहीले विदेशबाट चुनाव खर्च पनि पठाए ।

चुनाव जितेपछि उनी केपी ओली सरकारमा मन्त्री बने । मन्त्री बनेको चार महिनापछि सम्पत्ति विवरण सार्वजनिक गरे । सम्पत्ति विवरणमा उनीसँग बैंक खातामा ५५ लाख रुपैयाँ देखियो । त्यसपछि मात्र उनी ढाेंगी नेता भएको भन्दै विवादमा परे । पण्डितको चल सम्पत्ति मात्र ६१ लाखभन्दा बढी देखिएको छ ।

जारी सम्पत्ति विवरणअनुसार पण्डितको हालको सम्पत्तिमध्ये एभरेस्ट बैंकमा २५ लाख, कृषि विकास बैंकमा ३० लाख र १० तोला सुन अर्थात् झण्डै ६ लाखको सुन र १५ तोला चाँदी रहेको छ । यसको स्रोतको रुपमा उनले पैत्रिक, स्वआर्जन र वचत भनेका छन् । जबकि गत कात्तिकमा आफूसँग चुनाव लड्ने पैसासमेत नभएको भन्दै उनले सर्वसाधारणलाई सहयोग गर्न आग्रह गरेका थिए, त्यतिबेलाको कथा र अहिलेको तथ्यमा व्यापक परिवर्तन भएको छ ।

यिनै मन्त्री पण्डित अहिले दोहोरो सुविधा लिइरहेका छन् । उनले मासिक दुई सय लिटर इन्धन सुविधा लिन्छन् । तलबभत्ता, सचिवालय सुविधा भन्दै दुई लाख ३२ हजार ८३० रुपैयाँ बुझ्छन् । सचिवालयमा सातजना कर्मचारी भर्ना गरेका छन् ।

कुनै बेला आफूलाई गरिब भन्न रुचाउने पण्डित मन्त्री भएको वर्ष दिन नबित्दै अहिले करोडपति भइसकेका छन् । हिजोसम्म ‘साइकल मन्त्री’ को परिचय बनाएका पण्डितको स्टाटस फेरिएर ‘करोडपति’ मन्त्री भएको छ ।